पाथीभरा केवलकार शिलान्यास गर्न खोज्दा ढुंगा हानाहान


१२:४४ बजे

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केवलकार निर्माण पक्षधर र विरोधी पक्षबीच शुक्रबार भएको झडपमा कम्तीमा चार जना घाइते भएका छन् । झडपमा दुवै पक्षबाट गरी चार जना घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । झडपपछि अहिले अवस्था केही शान्त भए पनि काफ्लेपाटी क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ ।

तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले जानकारी दिए । ‘उनीहरु अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरु पनि लाग्यो’, उनले भने, ‘यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं ।’ नेपाल प्रहरी निरीक्षक विवेक बस्नेत र सशस्त्र प्रहरी निरीक्षक डेगेन्द्र ओलीको नेतृत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली तैनाथ छ ।

दुवै पक्षका मानिसहरू हाल काफ्लेपाटी क्षेत्रमा नै छन् । झडप दोहोरिन नदिन सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो बनाइएको छ । केवलकार निर्माण कम्पनीले स्काभेटर लैजाने प्रयास गर्दा स्थानीय प्रशासनले स्काभेटरको चाबी नियन्त्रणमा लिएको र त्यसै क्रममा निर्माण पक्षधर र विरोधी पक्षबीच ढुङ्गा हानाहान भएको बताइएको छ । प्रहरीले दुवै पक्षलाई तितरबितर बनाएपछि स्थिति अहिले केहि सामान्य बनेको जनाइएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७