सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौलाविरुद्धको दुई उजुरीमा सुनुवाइ जारी
काठमाडौं । न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौलाको संसदीय सुनुवाइ चलिरहेको छ । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा निरौलाको सुनुवाइ भइरहेको हो । संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसिरहेको सुनुवाइ समितिको बैठकमा निरौलाको सुनुवाइ भएको हो ।
निरौलाले समितिमा आफ्ना कार्ययोजनाका साथै अनुभव प्रस्तुत गरेका छन् । उनीविरुद्ध समितिमा दुई वटा उजुरी परेका छन् । निरौलापछि शुक्रबार नै सर्वोच्चको न्यायाधीशमा सिफारिस नित्यानन्द पाण्डेको सुनुवाइ हुनेछ । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्।
पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशमा रहेको अवस्थामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् । समिति सभापति ईश्वरीदेवी न्यौपाने अमेरिका भ्रमणमा रहेकाले समितिका ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा बैठक बसेर सुनुवाइ भइरहेको हो । समितिको लगातार छैटौं बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बसिरहेको हो ।