आन्दोलनसँगै उपनिर्वाचनमा रास्वपा : गणेश पराजुलीलाई संयोजनको जिम्मेवारी


१८:१८ बजे

 काठमाडौं । संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य अगाडि बढाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमाण्ड गर्नेछन् ।

उपनिर्वाचन हुने अधिकतम पदहरूमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो । सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा रहेको रास्वपाले उपनिर्वाचनमा भाग लिने वा नलिनेमा अन्योल थियो, तर पार्टीले सडक आन्दोलनलाई निरन्तरता दिँदै उपचुनावमा भाग लिने रणनीति बनाएको छ ।

यस उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति बनाएको छ । समितिको संयोजकमा पराजुली तोकिएका छन् । सात प्रदेशमा सातै वटा प्रदेश संयन्त्र, जिल्ला संयन्त्र, पालिका संयन्त्र, निर्वाचन क्षेत्र समिति संयन्त्र र सम्बन्धित वडा संयन्त्र मिलेर निर्वाचन परिचालन समिति बन्नेछ । सम्बन्धित पालिका वा वडाको संयन्त्र प्रमुख नै चुनावी कमाण्डर रहने छन् ।

देशका ७५३ वटा स्थानीय तहमध्ये २२ सय वडामा रास्वपाका संयन्त्र बनेका छन् । अन्य वडामा संयन्त्र बनाउने क्रम जारी छ । पार्टीको उपस्थिति नै नरहेका कतिपय वडामा रास्वपाले उम्मेदवार नउठाउन पनि सक्ने पराजुलीले जानकारी दिएका छन् । ‘४१ पदमा निर्वाचन हुन लागेकोमा २ वटा जिससका छन्, जसमा हामी प्रतिस्पर्धा गर्दैनौं । ३९ वटा स्थानमा उम्मेदवारी दिन हामीले आफ्नो संयन्त्रसँग संवाद गरिरहेका छौं । आज बेलुकाको जुम मिटिङबाट सबै फाइनल हुन्छ’, उनले सुनाए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७