विश्वकप क्रिकेट लिग–२ : नेपाल स्कटल्याण्डसँग खेल्दै, पहिलो जित निकाल्ने दाउ


२०८१ कार्तिक १३ मंगलबार ०६:०९ बजे

काठमाडौं । अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा नेपालले जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ । यसअघि यही कात्तिक ११ गते भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । 

त्यसो त स्कटल्याण्ड पनि उक्त सिरिजमा दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराइसकेको छ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयानुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । 

नेपाल र स्कटल्याण्डबीच हालसम्म छ एकदिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले समान तीन÷तीन खेल जितेका छन् । आगामी सन् २०२७ सम्म चल्ने विश्वकप लिग २ क्रिकेटमा नेपालले नौ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा हरेक सिरिजमा नेपालले चार एकदिवसीय खेल खेल्नेछ । 
    
लिग–२ मा नेपालले ९ खेलमा सात ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । यता स्कटल्याण्ड ८ खेलमा पाँच जित दुई हार र एक खेल रद्दसँगै ११ अङ्कका साथ चौथो स्थानमा रहेको छ। त्यसैगरी १२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७