कपिलवस्तुमा माओवादी महावीर समूहका नेताको हत्या


२०८१ कार्तिक ९ शुक्रबार २१:०९ बजे

कपिलवस्तु । कपिलवस्तुमा नेकपा (माओवादी) महावीर समूहका नेताको हत्या भएको छ । नेकपा (माओवादी) महावीर समूहमा संलग्न ‘परिवर्तन’ उपनामका ४५ वर्षीय दिनेश भन्ने जयप्रकाश यादवको हत्या भएको हो । उनी कपिलवस्तु इलाका नम्बर १० विजयनगर गाउँपालिकाको इलाका इञ्चार्ज रहेको प्रहरीले जानकारी दिएको छ ।

उनी कपिलवस्तु नगरपालिका–१० तेनुवाका हुन् । उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनको हत्या आरोपमा सोही पार्टीको जिल्ला सेक्रेटरी बताउने ४७ वर्षीय रमेश श्रेष्ठ र जिल्ला महिला विभाग प्रमुख ४७ वर्षीया मनकला थारू पक्राउ परेका छन् । थारू २०८० फागुनदेखि यस समूहमा लागेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवं एसपी निरन्जन भट्टका अनुसार दिनेशको आइतबार (कात्तिक ४ गते) राति पौने ९ बजे विजयनगर गाउँपालिका–२ खडैचा भैंसीघाटमा एक जनाको शव फेला परेको थियो । चिरइखोलाको किनारामा एक जना पुरूषको शव कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा फेला परेको थियो । शवको पहिचान हुन सकेको थिएन । 

शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट डिएसपी मोहनमणि अधिकारी र इप्रका गणेशपुरबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्दको टोली खटिएको थियो। शव हेर्दा सडिगलिसकेको  र शंकास्पद देखिएको थियो। 

प्रहरीले शवको पहिचान र घटनाको अनुसन्धानका लागि प्राविधिक सहायता र विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरेको एसपी भट्टले बताए ।  ‘मृतक भूमिगत हिसाबले हिँडेका व्यक्ति रहेछन् । प्राविधिक हिसाबले अनुसन्धान अघि बढायौं । पहिचान गर्न विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गर्‍यौं,’ उनले सुनाए, ‘अनुसन्धानकै क्रममा दुई जनालाई पक्राउ गरेपछि घटनाबारे थप खुलेको हो ।’

उनका अनुसार यस घटनाका मुख्य योजनाकार रमेश श्रेष्ठ हुन् । यस्तै मनकला पनि यस घटनामा प्रत्यक्ष रूपमै जोडिएका छन् । प्रहरीको प्रारम्भिक सोधपुछमा उनीहरू माओवादीको महावीर समूहमा संलग्न पाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएर महावीर समूह बनेको प्रहरीको भनाइ छ । उनीहरू तीनै जनाले ‘केन्द्रीय निर्देशन’ भन्दै कपिलवस्तुमा चन्दा उठाउने काम गर्दै आएका थिए ।

कपिलवस्तुमा यो समूहले १० वटा इलाका विभाजन गरेको थियो । जसमध्ये १० नम्बर इलाकाको क्षेत्रीय इन्चार्जको रूपमा दिनेशले जिम्मा पाएका थिए । अवैध रूपमा चन्दा असुली गर्नका लागि खटाइएका उनले चन्दा असुली त गरे तर उक्त रकम हिनामिना गरी पार्टीलाई हिसाब किताब नै बुझाउन इन्कार गरेको बयानका क्रममा रमेशले भनेका छन् ।

कात्तिक २ गते रमेश, गीतासहित अन्दाजी ९÷१० जना घटनास्थलमा भेला भएका थिए । त्यहाँ उनीहरूले धारिलो हतियार चक्कु र सिमेन्टको खम्बाले दिनेशको टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएको छ  ।  हत्यापछि खोलामा लगेर बालुवाले शव पुरेर घटनास्थलबाट फरार भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७