महिला स्वास्थ्य स्वयंसेविकाले अब सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने


२०८१ कार्तिक २ शुक्रबार १८:०४ बजे

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला सार्वजनिक यातायातमा निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको मन्त्रालयले जनाएको छ । विपद प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको कदर स्वरूप यातायात निःशुल्क बनाउने काममा लागिरहेको भन्दै केही समयमा नतिजा आउने घोषणा मन्त्री पौडेले गरेका थिए ।

मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए । त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । १५ कात्तिकदेखि यस्तो व्यवस्था लागु गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाएका छन् ।

‘महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ,’ मन्त्री पौडेलले भने, ‘आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।’ मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफू चिन्तित रहेको बताएका छन् ।

महासंघका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सुविधा उपलब्ध गराउने घोषणा गरे । महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरिन् । यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७