रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


२०८१ कार्तिक २ शुक्रबार २०:१७ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको हो । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । 

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरीका  एक उच्च अधिकृतले जानकारी दिए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।

उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रकम अवैध तरिकाले आएको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७