पाकिस्तानको साम्प्रदायिक झडपमा १६ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदाय बीच लामो समयदेखि लडाइँमा संलग्न छन् ।
कुर्रममा दुई सम्प्रदायका बीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौंको ज्यान लिएको छ । सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कायर्वाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो ।
जुलाई देखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ । अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरु अबलम्बन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरु हुन सक्ने जनाइएको छ ।सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ । रासस / एएफपी