इजराइलको मिसाइल आक्रमणमा हिजबुल्लाह कमाण्डरसहित ३१ जना मारिए


२०८१ असोज ५ शनिबार २०:३१ बजे
तस्वीर : रासस / एएफपी

काठमाडौं । लेबननमा इजराइलले गरेको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित ३१ जना मारिएका छन् । शुक्रबार बेरूतको दक्षिणी क्षेत्रमा ठूला ठूला भवनहरू रहेको इलाकामा इसराइलले मिसाइल आक्रमण गर्दा मृत्यु हुनेको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन् ।

आक्रमणमा हिजबुल्लाहका कमाण्डर अकिब इब्राहिम अकिल पनि मारिएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी हिजबुल्लाहको एलिट युनिटका कमाण्डर थिए । अमेरिकाले गत वर्ष मात्रै अकिलको विषयमा जानकारी दिनेलाई ७ मिलियन डलर दिने घोषणा गरेको थियो । ६३ जनाको मृत्यु हुनेगरी सन् १९८३ मा अमेरिकी राजदूतावासमा भएको आक्रमणमा अकिलको संलग्नता रहेको अमेरिकाको बुझाई छ । त्यस्तै बेरूतको मरिन ब्यारेकमा २४१ अमेरिकीको ज्यान जानेगरी भएको विस्फोटमा पनि अमेरिकाले अकिललाई दोषी ठहर गरेको छ ।  

हिजबुल्लाहले उक्त आक्रमणमा आफ्ना १६ लडाकु मारिएको पुष्टी गरेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ । इसराइली आक्रमणमा तीन बालबालिका र सात जना महिला तथा तीन जना सिरियाका नागरिक मारिएको बताइएको छ । आक्रमणमा परी ६८ जना बढी घाइते छन् । मिसाइल प्रहारपछि भवनहरू भत्किएर केही मानिसहरू पुरिएका थिए । केहीलाई मृत तथा केहीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनन र सिरियाका केही ठाउँहरूमा मंगलबार हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं पेजरहरू एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए ।

त्यसको भोलिपल्ट त्यसरी नै लेबननमा हिजबुल्लाह सदस्यले बोकेका वाकी–टकी अचानक विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए । मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी–टकी विष्फोट भएर केही हताहत भएका थिए ।
हिजबुल्लाहले पेजर विष्फोटमा इसराइलको हात रहेको दाबी गरेको छ । इजराइलले भने उक्त विष्फोटबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । देशबाहिर आफूले गर्ने खुफिया कारबाही र हत्याबारे इजराइल अरू बेला पनि बोल्दैन ।

संयुक्त राष्ट्रसंघले सञ्चारमाध्यमका सामग्रीहरूमार्फत विस्फोट गराउनु अन्तर्राष्ट्रिय मानवअधिकार कानुन विपरीतको काम भनेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा पेजर विष्फोटको विषयलाई लिएर  लेबननका विदेशमन्त्री अबदल्लाह बऊ हबिब र संयुक्त राष्ट्रसंघका लागि इसराइलका राजदूत ड्यानी डेननबीच भनाभन भएको थियो । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७