राहुघाट जलविद्युत आयोजनाको ८० प्रतिशत काम सकियो


२०८१ असोज ४ शुक्रबार १५:१६ बजे

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । 

आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनी कंक्रिट लाइनिङको काम धमाधम भइरहेको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रुपमा कंक्रिट लाइनिङ गर्नु पर्ने छ । हालसम्म मुख्य सुरुङको एक किलोमिटर कंक्रिट लाइनिङ गरिएको छ । मुख्य सुरुङबाट विद्युत्गृहसम्म पानी पुर्याउन राखिने १०५० मि. पेनस्टक पाइपमध्ये १३० मि. जडान गरिएको छ ।

विद्युत्गृहको मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान भइरहेको छ । विद्युत् उत्पादनका लागि २०÷२० मेगावाटका दुईवटा युनिट छन् । खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायतका उपकरणहरु आयोजनास्थलमा ढुवानी भइसकेका छन् । अब जडान सुरु हुने छ । बालुवा थिग्र्याउने पोखरी (डिसेन्टर)को निर्माण करिब ३० प्रतिशत सकिएको छ । वर्षाका कारण रोकिएको हेडवर्क्स निर्माण अब सुरु हुने जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग छलफल गरेका थिए । कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्याहरु झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताए ।

आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ छ । आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेका छन् । त्रिशूली र देवीघाट जलविद्युत्पछि भारतले विद्युत् उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो । सुरुमा आयोजनाको क्षमता ३२ मेगावाट थियो । आयोजना निर्माणका लागि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोडिएको थियो । त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट बनाएर नयाँ ठेक्का सम्झौता गरिएको थियो ।

सिभिल संरचना र हाइड्रो मेकानिकलका कामहरु इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी ढाँचामा जयप्रकाश एसोसिएटस् लि. भारतले, इलेक्ट्रोमेकानिकलका कार्यहरु भारत हेभ्वी इलेक्ट्रिकल लि.ले र निर्माण सुपरीवेक्षण वाप्कोस् लि, भारतले गरिरहेका छन् । दैनिक ४ घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक रुपमा २४ करोड ७९ लाख युनिट विद्युत उत्पादन हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७