रविजीले क्लीन चिट पाउनु भयो, राजनीति छोड्नु पर्दैन : शिशिर खनाल
काठमाडौँ । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन पारित गरेपछि रास्वपाका तर्फबाट सदस्य बनेका शिशिर खनाल प्रफुल्लिता प्रकट गरेका छन् । उनले पत्रकारहरूसँग प्रतिवेदनको निष्कर्षबारे खुलेर प्रतिक्रिया पनि दिएका छन् । लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालको भनाइ छ । सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै लामिछाने जिम्मेवार देखिएको उनले बताएका छन् ।
‘एमडीको हैसियतमा रकम खर्च गर्दा यदि कुनै कानूनी दायित्व सिर्जना हुन्छ भने त्यो बहन गर्नुपर्छ भनेर लेखिएको छ । सहकारीको रकम अपचलनमा उहाँमाथि कुनै पनि कारबाही गर्न सिफारिस भएको छैन,’ खनालले भने । रविले क्लीन चिट पाउनु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जुन आरोप उहाँलाई लगाइएको थियो, हामीसँग हिनामिनाको तथ्य प्रमाण छ भनिएको थियो, त्यसबाट पूर्णरुपमा क्लीन चिट पाउनु भएको छ ।’ उहाँले दोषी प्रमाणित भए राजनीति छोड्छु भन्नु भएको थियो, अब छोड्नु पर्दैन ?’ ‘हो, त्यो अब पर्दैन ।’