अख्तियारमा एक वर्षमा २६ हजार ९ सय १८ उजुरी, १५ सय जनाविरुद्ध मुद्दा


२०८१ भदौ ३० आइतबार २३:२० बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरी परेको छ । ती मध्ये सबैभन्दा बढी संङ्‍घीय मामिला (स्थानीय तह समेत)  सँग सम्बन्धित ८.९१ प्रतिशत रहेका अख्तियारले जनाएको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नरहरि घिमिरेले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरु समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए ।

यस अवधिमा कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानविनबाट फछ्र्यौैैट भएको बताए ।

उनका अनुसार स्क्रिनिङ र प्रारम्भिक छानबिन भएका फर्छ्यौट भएका २७ हजार ७१४ वटमा उजुरीमध्ये ९३२ वटाको उजुरीउपर विस्तृत अनुसन्धान गरिएको थियो । यस्तै १३ हजार ७१४ उजुरी तामेली गरिएको, ४९६ वटा उजुरीहरू उपर सुझाव दिई तामेली गरिएको र बाँकी १२ हजार ७८६ उजुरीउपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखि पठाएको उनकाे भनाइ छ । 

प्रवक्ता घिमिरेका  प्रारम्भिक छानबिनको क्रममा रहेका ८ हजार ४७२ उजुरी  आर्थिक वर्ष २०८१–०८२ मा जिम्मेवारी सरेर आएको छ । आर्थिक वर्ष २०८०–०८१ मा १०५० वटा फाइलहरूको विस्तृत अनुसन्धान भई पेस भएकोमा कुल ८६ वटा बैठक बसेर २०१ वटा मुद्दा दायर गर्ने निर्णय भएको उनकाे भनाइ छ । 

अख्तियारले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी सम्बन्धी ३३, राजश्व चुहावट सम्बन्धी १३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११, विभिन्न विषयका ४ वटा मुद्दाहरु विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले एक वर्ष अवधिमा कुल एक हजार ४५ जनालाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

उनले कुल एक हजार ५४५ प्रतिवादीहरुमध्ये सरकारी कर्मचारी ५२०, निर्वाचित जनप्रतिनिधिहरु १०६, मनोनित पदाधिकारी १४८, राजनीतिक नियुक्ति ३२, लेखापढी व्यवसायी, विचौलिया,संघ संस्था र अन्य व्यक्तिहरु ७३९ रहेको बताए ।

सरकारी कर्मचारी ५२० जनामध्ये विशिष्ट श्रेणीका ६, सहसचिव वा सो सरह ३०, उपसचिव ८२, शाखा अधिकृत २०२ र सहायक स्तरका २०० जना रहेको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७