चार बुँदे सहमतिपछि अध्यक्ष यादवको अनसन अन्त्य


२०८१ भदौ २९ शनिबार ०१:३८ बजे

नवलपरासी । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनसन तोडेका छन् । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गए राति उनले अनसन तोडेका हुन् । अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनसन सुरु गरेका थिए ।

चार बुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरेका छन् । उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनसन तोडाएका थिए । सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ । 

साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ । सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइनेछ । 

त्यसैगरी सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी–कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ । प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरुले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७