गृहसचिव दुवाडीले गरे प्रहरी प्रधान कार्यालय निरीक्षण
काठमाडौं । गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण गरेका छन् । आज (बुधबार) प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरेका छन् ।
गृहसचिव दुवाडीले त्यहाँस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरेका छन् । गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरेका थिए ।
सो अवसरमा गृहसचिव दुवाडीले विभिन्न समस्या, सीमितता र चुनौतीका बाबजुद नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानुन कार्यान्वयनमा पुर्याएको योगदानको प्रशंसा गरे ।उनले परम्परागत ‘पुलिसिङ’ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले नेपालको संविधान, कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्डभित्र रहेर प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन सदैव प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास व्यक्त गरे ।