देश छाडेको नौं दिनपछि हसिनाको विज्ञप्ती : बिहीबार सार्वजनिक रुपमा उपस्थित हुन समर्थकलाई आग्रह


२०८१ श्रावण ३० बुधबार १५:१९ बजे
फाइल फोटो

ढाका । अपदस्थ बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु’, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भनेकी छन् । पूर्व प्रधानमन्त्री हसिनाले देश छाडेको ९ दिनमा पहिलो वक्तव्य जारी गरेकी छन् । फागुन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी हसिनाले गएराति पहिलो वक्तव्य जारी गरेकी हुन् ।

हसिनाको वक्तव्य उनको छोरा साजिव वाजेदले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । वक्तव्यमा उनले सन् १९७५ मा अगस्ट १५ भएको आफ्नो परिवारका सदस्यहरूको हत्या र जुलाई यताको प्रदर्शनको विषयमा उल्लेख गरेकी छन् ।
उनले जुलाइदेखि बंगलादेशमा भएका हत्या, हिंसा र तोडफोडको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन् । उनले विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा भएको आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन् ।

‘विद्यार्थी, शिक्षक, प्रहरी, गर्भवती महिला, पत्रकार, अभियान्ता, अवामी दलका नेता,  विभिन्न संस्था र त्यससँग सम्बन्धित व्यक्तिहरू आतंककारी आक्रमणबाट मारिए,’ वक्तव्यमा उल्लेख छ । उनले आफू जस्तै प्रियजनहरू गुमाएर पनि बाँचिरहेकाहरूप्रति समवेदना प्रकट गरेकी छन् ।

‘यी जघन्य हत्या र तोडफोडका पछाडि जिम्मेवार व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन र विस्तृत अनुसन्धान गर्न माग गर्दछु,’ हसिनाको वक्तव्यमा उल्लेख छ । उनले आफ्नै कार्यकालमा बंगलादेशले विकाशसील राष्ट्रहरूमा सम्मानको स्थान बनाएको बताइन् । ‘तर दुखका साथ भन्नुपर्छ ती सबै आज खरानीमा परिणत भएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

उनले पछिल्लो समय भएको क्रियाकलाप राष्ट्रपति मुजिबुर रहमान र लाखौं शहीदहरूको अपमान समेत रहेको बताएकी छन् । ‘यो राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको गहिरो अपमान हो, जसको नेतृत्वमा हामीले हाम्रो स्वाभिमान, हाम्रो पहिचान र हाम्रो स्वतन्त्र राष्ट्र हासिल गर्‍यौ । यो लाखौं शहीदहरूको रगतको घोर अपमान हो । म यो देशका जनतासँग न्याय चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

उनले १५ अगस्टलाई राष्ट्रिय शोक दिवस उचित सम्मान र गम्भिरताका साथ मनाउन आग्रह पनि गरेकी छन् । भोलि बंगबन्धु स्मृति संग्रहालयमा पुष्पहार अर्पण गरी दिवंगत आत्माको चीरशान्तिको कामना गर्न पनि बंगलादेशी नागरिकहरूलाई आग्रह गरेकी छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७