भारतीय विदेश सचिव फर्किए, एमसीसीका सेक्टर अपरेसन प्रबन्ध निर्देशक आइपुगे
काठमाडौँ । नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव विक्रम मिश्री सोमबार साँझ स्वदेश फर्किदै गर्दा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सेक्टर अपरेसन हेर्ने प्रबन्ध निर्देशक केभिन मिचेल नेपाल आइपुगेका छन् ।
एमसीसीका सेक्टर अपरेसन हेर्ने प्रबन्ध निर्देशक केभिन मिचेल एक साता लामो नेपाल भ्रमणका लागि आज सोमबार नेपाल आइपुगेका हुन् । एमसीसी–नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलाई समर्थन गर्न एमसीए नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेट्न उनी नेपाल आएको अमेरिकी दूतावासले जनाएको छ ।
केभिनसँग वित्तीय व्यवस्थापन, योजना, विश्लेषण र रिपोर्टिङमा ३० वर्षभन्दा लामो समय विश्वका ६० भन्दा बढी देशमा काम गरेको अनुभव छ । उनले पछिल्लो १५ वर्ष एमसीसीमा काम गरिरहेका छन् । अमेरिकी अनुदान सहयोगमा नेपालमा ५०० मिलियन अमेरिकी डलर धनराशि खर्चेर सडक पूर्वाधार र ऊर्जा पूर्वाधार निर्माणको काम भइरहेको छ ।
यता भारतीय विदेश सचिव विक्रम मिश्री सोमबार साँझ स्वदेश फर्किएका छन् । ३२ घण्टा नेपाल बसाइँका क्रममा उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, चार बहालवाला मन्त्री र परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरी फर्किएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
भारतीय विदेश सचिव मिश्रीले सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोमबार नै उनले आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए । परराष्ट्र सचिव लम्सालले उनको सम्मानमा आइतबार साँझ आयोजना गरेको रात्रिभोजमा विदेश सचिव मिश्रीले मधेस केन्द्रित दलका नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी गरेका थिए ।