भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा सचिव मिश्री साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका हुन् । परराष्ट्रका अनुसार भारतका विदेशसचिवले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ । द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेशसचिवको भ्रमण अवसर हुने पनि भारतको विश्वास छ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनेको छ, ‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ ।’
नेपाल र भारतविचको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भनेको छ, ‘भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ, र भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ ।’
परराष्ट्र स्रोतका अनुसार नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई भेट्नेछन्। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ। एमाले–कांग्रेसको संयुक्त सरकार बनेपछि भारतबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
मिश्रीको पहिलो नेपाल भ्रमण
उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए । विदेशसचिव मिश्री चीन, स्पेन र म्यानमारका लागि भारतीय राजदूत भइसकेका छन् । यसैगरी, उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन प्रधानमन्त्रीद्वय डा. मनमोहन सिंह र आइके गुजरालको निजी सचिवका रूपमा काम गरिसकेका छन् ।
कूटनीति र सुरक्षाको अनुभव रहेका मिश्री भारतीय विदेश मन्त्रालयमा चीनविज्ञका रूपमा चिनिन्छन् । चिनियाँ भाषाको विज्ञतासमेत लिएका मिश्रीले दुई छिमेकी चीन र म्यानमारमा राजदूतको अनुभव लिएका छन् । राजदूतभन्दा तल्लो ओहोदामा श्रीलंका र पाकिस्तानस्थित भारतीय उच्च आयोग (राजदूतावास)मा काम गरेको अनुभव छ । उनले नेपालसँग सम्बन्धित उत्तरी डिभिजन वा नेपालस्थित भारतीय राजदूतावासमा भने काम गरेका छैनन् ।
भारतको कस्मिरमा ७ नोभेम्बर १९६४ मा जन्मेका मिश्री १९८९ मा विदेश सेवामा प्रवेश गरेका थिए । उनी ५ मे २०२० मा भारत–चीन सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच तनाव हुँदा चीनका लागि भारतीय राजदूत थिए । उनी २०१९ को सुरुवातदेखि २०२१ को अन्तिमसम्म चीनका लागि भारतीय राजदूत थिए । त्यसअघि उनले स्पेन र म्यानमारका लागि भारतीय राजदूतको अनुभव लिएका छन् । त्यसो त उनी २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रूपमा कार्य गरेको अनुभव र निकटता दुवै छ ।
मोदीसँग मात्र नभएर उनी इन्द्रकुमार गुजराल र डा. मनमोहन सिंहका पालामा पनि प्रधानमन्त्रीको निजी सचिव थिए । २०१८ देखि २०२१ मा चीनका लागि उनी राजदूत भएर फर्केपछि मिश्रीलाई सरकारले उपराष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । विदेश सेवाको दौरान उनले बेल्जियम, पाकिस्तान, अमेरिका, श्रीलंका र जर्मनीमा काम गरेको अनुभव छ ।