पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण


१५:५५ बजे

अमेरिका :  चन्द्रमाको एक क्रेटरलाई अब सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नामबाट चिनिने भएको छ । अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामाकरण समूहले चन्द्रमाको एक क्रेटरलाई ल्हामु नाम स्वीकृत गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले गरेको घोषणाअनुसार, सगरमाथा आरोहरण गर्ने प्रथम महिलाको सम्मानार्थ चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ल्हामु क्रेटर नामाकरण गरिएको हो । 

अन्तर्राष्ट्रिय खगोलीय संघले पासाङ ल्हामुको सम्मान र उनको अतुलनीय उपलब्धि भनेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत पासाङ ल्हामुको सम्मानले नेपाली महिलाहरूका लागि उच्च सफलताको बाटो खोलिदिएको र विश्वभर रहेका अनगिन्ती महिलाहरूलाई सम्मान पुगेको भनेको छ । राजदूतावासले भनेको छ, ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ ।’

पासाङ ल्हामुको सम्मानमा चन्द्रमाको एक महत्वपूर्ण पर्वतको नाम राखिने भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो समाचारलाई महत्वका साथ स्थान दिएका छन् । यो समाचारसँगै आम नेपालीहरूले खुसी व्यक्त गरेका छन् । मेरिल्यान्ड राज्य सभाका सांसद डाक्टर ह्यारी भण्डारीले पासाङ ल्हामु शेर्पाको सम्मानले विश्वभर रहेका नेपालीहरूको शीर उँचो भएको बताएका छन् ।

सांसद भण्डारीले भने, ‘यो उच्च सफलताले विश्वभरका महिला दिदीबहिनी र आम नेपालीको सफलतासँग जोड्छ ।’ गैरआवासीय नेपाली संघ अमेरिकाका प्रवक्ता प्रोफेसर डाक्टर राजन पन्तले पासाङ ल्हामु शेर्पाको सम्मानमा अन्तर्राष्ट्रिय खगोलीय संघले गरेको सम्मानले आज विश्वभर छरिएर रहेका नेपालीहरूको शीर उँचो भएको प्रतिक्रिया दिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७