ढिस्कोले पुरिएर दुई मजदुरको गयो ज्यान

मुस्ताङ । मुस्ताङको घरपझोङ–५ ढुम्बामा ढिस्कोमा पुरिएर दुई मजदुरको ज्यान गएको छ । शुक्रबार दिउँसो करिब १ बजे ढुम्बास्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
सर्लाही लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । पुरिएको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।