दुई बस खसेको त्रिशूलीबाट ५० किमी टाढा नारायणी नदी किनारमा भेटियो एउटा शव
बसका यात्रु हुन् / होइनन् पहिचान बाँकी

काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट शुक्रबार विहान पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोज्ने क्रममा एउटा शव भेटिएको छ ।
शनिबार बिहान भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए । बस दुर्घटनास्थल सिमलतालबाट शव भेटिएको ठाउँको दूरी ५० किमी टाढा पर्ने प्रहरीले जनाएको छ । मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए । उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो ।
प्रहरीले मुचुल्का गरेर शव जिल्ला अस्पताल भरतपुर लगेको छ । ‘ग्लोबल आइएमइ बैंकसँग समन्वय भइसकेको छ । त्यहाँबाट थप परिचय सबै थाहा हुन्छ,’ डिएपसपी रिजालले भने । ‘उनी त्यही दुई बसमध्येका यात्रु हुन् कि होइनन् भनेर सोधखोज गर्दैछौँ’, डीएसपी रिजालले भने, ‘उनी भारतीय नागरिक भएको पत्ता लागे पनि ठ्याक्कै घर ठेगाना थाहा भइसकेको छैन, हामी सनाखतको प्रयास गरिरहेका छौं ।’
मुग्लिन–नारायणघाट सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोसँगै बस बगाउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता छन् । शुक्रबार खोजी कार्य गरिए पनि त्रिशूलीमा पानीको वहाब बढेकाले कठीन भएको थियो । शनिबार बिहान पानीको वहाब पनि कम भएकाले खोजी कार्य प्रभावकारी हुने डिएसपी रिजालले बताए । शनिबार सशस्त्र प्रहरीले सोनार क्यामेर, वाटर ड्रोन प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ ।