बाढीबाट जोगाउन खोला छेउमा घर बनाउन रोक लगाउनु पर्छ : आरजु देउवा
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन् ।
उनले सरकारले जहाँको पनि जग्गा किनबेच गर्न दिने गरेको भन्दै सुरक्षित जमिन र असुरक्षित जमिनको बारेमा स्पष्ट पार्नुपर्ने बताइन् । उनले मानिसहरुले खोला वरिवरि घर बनाउँदा विपद्मा पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने बताइन् ।
सांसद राणाले भनिन्, ‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो, कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित होइन भनेर भनिदिनु पर्छ । भूमि सुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ । मध्यवर्ती क्षेत्र जीवजन्तुको सुरक्षाको लागि राखेका छौं । तर मान्छेको सुरक्षाको लागि पनि खोलाको वरिवरि घर बनाउनु हुँदैन । कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ ।’ उनले हिमतालहरुको सुरक्षाको लागि विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण पनि गराइन् ।
.gif)

.png)


