त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटर महर्जनविरुद्ध सात करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं । त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटर सिद्धिबहादुर महर्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ललितपुरले शुक्रबार त्रिशक्ति ट्रेडर्सका प्रोप्राइटर महर्जनविरुद्ध ७ करोड ६० लाख ५ हजार ३२४ बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
महर्जनले नक्कली मूल्य अभिवृद्धि कर बीजक खरिद गरेर वित्तीय विवरणहरू तोडमोड गरी राजश्व चुहावट गरेको विभागको दाबी छ । अनुसन्धानका क्रममा महर्जन प्रोपाइटर रहेको त्रिशक्ति ट्रेडर्सले नक्कली बिलमार्फत ४ करोड ७७ लाख ६ हजार ३०० खातामा प्राप्त गरेको देखिएको थियो । तर उक्त कम्पनीले सो रकमलाई आफ्नो आय विवरण पेश गर्दा सम्बन्धित वित्तीय विवरणमा झूटा कारोबारलाई समावेश गराएको पाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।