उच्चस्तरीय समिति बनाएर प्रश्न उठेका सार्वजनिक पदमा रहेकामाथि छानबिन गर्नुपर्छ : नैनसिंह महर
काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले औंल्याएका छन् । प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम् विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताए ।
‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानबिन हुनुपर्छ। कारबाही सिफारिसका लागि उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ,’ उनले भने । संसद्मा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको छैन ।
‘देशका प्रति सांसदहरू जिम्मेवार देखिनु आवश्यक छ । तर उच्चस्तरीय छानबिन समिति बन्न सकेको छैन । सांसद साँच्चिकै देश र जनताका प्रति जिम्मेवार छन् भने सदनमा नाटकबाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ । यसका लागि विधेयक आवश्यक परे त्यो पनि ल्याउनुपर्छ,’ उनले भने । त्यसरी गठित समितिले २०१७ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताए ।
समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ । ‘कानुन र नैतिकता अलि फरक हुन् । कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ । नैतिकता भनेको उसले पालना गर्ने आचरण हो । तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हुन्छ,’ उनले भने ।
यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनको भनाइ छ । नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृति गतिमा अगाडि बढाउन नसकिएको उनले बताए । ‘नैतिकता हराएकै कारण नेपाललाई जुन ठाउँमा पुर्याउन सकिन्थ्यो, त्यहाँ पुगाउन सकेका छैनौं । युवाहरूले यही देशमा भविष्य देख्नुपर्थ्याे । राजनीतिक दलका नेता इमानदार हुनुपर्थ्याे । कर्मचारी इमानदार हुनुपर्थ्याे । पत्रकारले निष्पक्ष कलम चलाउनु पर्थ्याे । त्यो कम भएको देखिनु भनेको नैतिकता ह्रास हुँदै जानु हो,’ महरले भने । संसद् जनताका प्रति जिम्मेवार हुन नसकेको महरको आरोप छ । संसद्मा पुगेर कोही भत्ता मात्रै खाने र कोही सत्ता मात्रै चलाउने धाउन्नमा रहेको उनले बताए । यसले जनउत्तरदायित्व नदेखिएको उनको ठहर छ ।
छिटो–छिटो गठबन्धन भत्किनु र बन्नु पनि राजनीतिज्ञमा नैतिक ह्रासको प्रमाण भएको महरको भनाइ छ । यसले देशलाई ठूलो क्षति पु्ग्ने गरेको उनले बताए । नैतिकता ह्रास हुँदा गलत बाटो अवलम्बन गरिने भएकाले त्यसले मुलुक र जनताका लागि ठूलो दीर्घकालीन असर पुर्याइरहेको महरको धारणा छ । यस्तै वर्तमान सरकारमा नै विभिन्न विवादमा मुछिएका र अनुसन्धानको दायरमा रहेका व्यक्तिहरू मन्त्री रहेकाले यसले राजनीतिक नैतिकता नदेखाउने महरले बताए । यस्ता प्रवृत्तिले जनतामा चरम निराशा बढ्ने भएकाले निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।
.gif)

.png)




