झापामा पति परस्त्रीसँग लागेको पीरमा छोरीसहित आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु
झापा । झापामा गत शुक्रबार आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।
फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको ‘सुसाइड नोट’ प्रहरीले फेला परेको थियो । मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही थालेको प्रहरी निरीक्षक गिरीले बताए । रासस