राष्ट्रियसभा निर्वाचन : कर्णालीमा साढे तीन घण्टामै शतप्रतिशत मतदान
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा करिव साढे तीन घण्टामै मतदान अन्तिमतिर पुगेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान १ बज्नै लाग्दा सकिन लागेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन कार्यालयका अनुसार प्रदेश सभाका सभामुख नन्दा गुरुङले मात्रै मतदान गर्न बाँकी रहेको निर्वाचन सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दि ए। उनका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेश सभातर्फका ३९ जनाले मतदान गरिसकेका छन् ।
अब एउटा मत मात्रै खस्न बाँकी रहेको छ । यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । मतभार नेकपा एमालेको भन्दा गठबन्धनको तीन गुणाले बढी छ । प्रदेश सभाका सदस्यहरूको मतभार संख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ ।