वरिष्ठ फोटो पत्रकार श्रीधरलाल मानन्धर सहित चार फोटो पत्रकारलाई सम्मान


२०८० असोज ७ आइतबार १०:३८ बजे

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आफ्नो २६औँ वार्षिक साधारणसभाको अवसरमा ८४ वर्षे मानन्धरलाई ‘वरिष्ठ फोटो पत्रकार’का रूपमा सम्मान गरेको हो । शनिबार काठमाडौंको तीनकुनेमा आयोजित कार्यक्रममा साधारणसभाले गरेका निर्णयहरू र आगामी योजनासमेत सार्वजनिक गरेको छ ।

स्थापनाको २७ वर्षमा प्रवेश गरेको अवसरमा एनएफपीजेले विभिन्न फोटो पत्रकारहरूलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले वरिष्ठ फोटो पत्रकार सम्मानबाट श्रीधरलाल मानन्धर, राम गुरुङ, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । यसैगरी निरन्तर २५ वर्ष फोटोग्राफीमा योगदान गरेबापत राजभाइ सुवाल सम्मानित भए ।


यसै वर्षदेखि एनएफपीजेले ‘प्रेसिडेन्ट अवार्ड’समेत दिन थालेको छ । अध्यक्षको स्वविवेकले दिने भनिएको यस वर्षको अवार्ड एनएफपीजेकै कोषाध्यक्ष सागर श्रेष्ठले पाए ।

यस्तै, हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानअन्तर्गत साहसिक फोटो पत्रकारिता पुरस्कार कल्पना महर्जन, संस्कृति सम्पदा पत्रकारिता पुरस्कार रत्नकिशोर श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार सुरेशकुमार श्रेष्ठ, खेल पत्रकारिता पुरस्कार विजय महर्जन र पर्यापर्यटन फोटो पत्रकारिता पुरस्कार अम्बी तोलाङले पाए । पर्यापर्यटन विधामा गत वर्ष पुरस्कार पाए पनि अनुपस्थित रहेका नारायण सिलवालले यसै कार्यक्रममा गत वर्षको पुरस्कार बुझे ।

पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ मुकुन्द कालिकाटेलाई दिइयो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री महतोले फोटो पत्रकारहरू मुलुक समृद्धिको अंग भएको बताए । समाजलाई सुसूचित गराउन फोटो पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । ‘केही साथीहरूले ज्यानकै बाजी राखेर फोटो खिचेको पनि देखेको छु । ती फोटोले हाम्रो देशको संस्कृति, सभ्यता देखाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालमा भएका चिजहरूलाई उजागर गरेको छ । पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ’, उनले भने ।

कार्यक्रमका विशिष्ट सांसद रामहरि खतिवडाले फोटो पत्रकारितामार्फत खबरदारी सधैं अपेक्षा गरेको बताए । खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए । नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपककुमार अधिकारीले फोटो पत्रकारिताले आलोचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७