टुँडिखेलमा गौराको रौनक, नेताहरुले पनि नाचे देउडा (फोटो फिचर)


२०८० भदौ ७ बिहीबार २३:४४ बजे

काठमाडौं । मुख्य गरी सुदूरपश्चिममा मनाइने गौरा पर्व आज (बिहीबार) काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंको टुँडिखेलमा गौरा पर्वका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, एमाले नेता भीम रावललगायत पनि सहभागी भएका थिए ।

गौराको पूजा र महिमा गान गरी मनाइने यो पर्वमा सुदूरपश्चिमको डेउडा पनि खेल्ने चलन छ । आज सुदूरपश्चिम घर भएका कांग्रेस सभापति देउवासँगै प्रधानमन्त्री प्रचण्डले पनि टुँडी खेलमा डेउडा खेले । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्ने चलन छ ।

तीन दिनसम्म मनाइने गौरामा महिलाहरू व्रत बस्ने र गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाउने गर्छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । गौराको दोस्रो दिन व्रतालु महिलाले पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको छ ।

सोही दिन महिलाले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । गौरा पर्वको प्रमुख आकर्षण भनेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने नै हो । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।
तस्वीरहरु

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७