ललिता निवास प्रकरण : डा. बाबुराम भट्टराईले सीआईबीलाई घरमै बोलाएर दिए बयान

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) घरमै बोलाएर लाई बयान दिएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री भट्टराईले सोमबार सीआईबीलाई ललिता निवास प्रकरणमा आफ्नो संलग्नताबारे बयान दिएका हुन् । भट्टराईले ललिता निवास प्रकरणमा आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे उठेका प्रश्नबारे सीआईबीलाई जवाफ दिएको बताएका छन् । पूर्व प्रधानमन्त्री डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार टोखास्थित निवासमै बोलाएर डा. भट्टराईले सीआईबी प्रमुख एवम् एआईजी किरण बज्राचार्यलाई ललिता निवास प्रकरणबारे जानकारी गराएका हुन् ।
‘ललिता निवास प्रकरणबारे घटना विवरण जानकारी गराउन उहाँले सीआईबीमा आफै सम्पर्क गर्नु भएको थियो’, पाण्डेले भने, ‘त्यसैअनुसार सीआईबी प्रमुख बज्राचार्य टोखास्थित डा. भट्टराईको निवास आउनु भएको थियो ।’ डा. भट्टराईले करिब ४५ मिनेट लगाएर आफू प्रधानमन्त्री भएका बेला ललिता निवासबारे तत्कालीन क्याबिनेटबाट भएका नीतिगत निर्णयको विवरण एआईजी बज्राचार्यलाई दिएका थिए ।
उनले ललिता निवास प्रकरणमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका छन् । बयान दिएको विषयमा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु ।’
https://twitter.com/brb1954/status/1693484728052285666?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1693484728052285666%7Ctwgr%5E8f7f799aac68bd78900898b5eefc298b471f7969%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fshilapatra.com%2Fdetail%2F119271