कृषिमन्त्री भुसालले भने, ‘लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन सक्दैनौं’
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किन रोग लागेर पशुहरूको मृत्यु भएपछि किसानहरूलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति भने दिन नसकिने बताएका हुन् ।
तर, सरकारको तर्फबाट किसानहरूलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनको भनाइ छ । उनका अनुसार लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएका छन् । चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै उनले एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।