जंगली च्याउ खाँदा छोरीको मृत्यु, आमा र बुबा बिरामी
दाङ । दाङमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो ।
जंगली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मंगलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो ।
मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उनका श्रीमान अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । जंगलमा भेटिएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।