शिक्षा ऐनमा केही नक्कली पाइयो, सच्याएर सदनमा पेस गर्दैछौं : प्रधानमन्त्री


२०८० श्रावण २६ शुक्रबार २०:१५ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएको चुनौती हाम्रा लागि अग्नि परीक्षा सरह भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन् । उनले नक्कली शिक्षा ऐन मन्त्रिपरिषदमा फेला परेपछि त्यसलाई सच्याएर मात्रै संसदमा पेस गर्न तयारी गरिरहेको बताए । ‘संघीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रुप दिइँदैछ’, उनले भने, ‘मैले अस्तीको दिन मात्रै क्याबिनेटमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको ओर्जिनल शिक्षा ऐनको ठाउँमा केही डुप्लिकेसन आएको देखेपछि त्यसलाई रोकेर त्यसलाई सच्याएर मात्रै सदनमा पेस गर्न भनेर सच्याउने प्रक्रिया सुरु भएको छ ।’

उनले सो सेवामा सुधार गर्ने सङ्कल्प समेत आफूले लिएको र यसमा देखिने गरी नै काम गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूता जस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्वपूर्ण रहेको बताए ।

संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार दत्तचित्त भएर लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘संविधानमा लेख्ने कुरा त हामीले राम्रै लेखेका छौँ । जनताको सरदर आयु बढ्दै गएको छ । संविधानले परिकल्पना गरे जस्तो सुविधा पाए कि पाएनन् भन्ने कुरा महत्वपूर्ण छ । यस आधारमा सुविधा उपलब्ध गराउन सरकार लागिपरेको छ’, प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले सरकार सुशासनको पक्षमा मात्रै नभई स्वास्थ्य, शिक्षा र अन्य सेवा प्रदान गर्ने क्षेत्रमा निरन्तर सकारात्मक प्रयास थालेको बताए । प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएको समेत जानकारी दिए । प्रधानमन्त्री दाहालले जोश र उत्साहका साथ केही काम गरी छाड्ने सङ्कल्पका साथ काम कारबाही अगाडि बढाएकामा स्वास्थ्यमन्त्री बस्नेतको प्रशंसा गरे । प्रधानमन्त्री दाहालले सुर्तीजन्य पदार्थबाट आउने राजस्वलाई स्वास्थ्य क्षेत्रमा नै खर्च हुने वातावरण बनाउने बताए । उनले आगामी दिनमा यस क्षेत्रमा थप बजेट उपलब्ध गराउने र अभाव हुन नदिने विश्वास समेत दिलाए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७