धनुषामा पति–पत्नी दुवैलाई नदीले बगायो
धनुषा । धनुषामा मंगलबार नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो ।
स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो । मङ्गलबारदेखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा बाढी आएको छ । बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए । खोलामा बालक डुबेको खबर पाउनासाथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो ।
उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।
त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक महिला र एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन् । कमला नदीमा बगेको दाउरा निकाल्ने क्रममा उनीहरुलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । रासस