‘डेब्यु’ खेलमै इन्टर मियामीका लागि मेस्सीको उत्कृष्ट गोल

काठमाडौं । अर्जेन्टिनाका विश्व विजेता कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीमा आफ्नो ‘सुखद डेब्यु’ गरेका छन् । नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा उनले इन्जुरी समयको अन्तिम मिनेटमा गरेको आकर्षक फ्रिकिक गोलसँगै मियामीले क्रुज अजुललाई २–१ ले पराजित गर्यो ।
लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध १–१ गोलको अवस्थामा रहेर बराबरी उन्मुख रहेको खेलमा इन्जुरी समयको अन्तिम मिनेटमा मेस्सीलाई फल गरेपछि पाएको फ्रिकिकलाई उनले करिब २५ यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गर्दै उनले मियामीमा ‘डेब्यु’ गरेका थिए । उनीसँगै बार्सिलोनाका पूर्वसहकर्मी सर्जियो बुस्केट्स पनि मैदन प्रवेश गरेका थिए । खेलको ४४ औं मिनेटमा रोबर्ट टेलरले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रबि रबिन्सनको पासलाई गोलमा परिणत गरेका थिए ।
तर ५४ औं मिनेटमा मेस्सी र बुस्केट्स मैदान प्रवेश गरेको केही समयमा नै ६५ औं मिनेटमा जेसस दुएनसको पासमा उरिएल अन्तुनाले गोल गर्दै क्रुजलाई बराबरीमा ल्याए । तर डिबक्स बाहिर मेस्सीलाई लडाएपछि मियामीले अन्तिम मिनेटमा फ्रिकिकको अवसर पाएको थियो, जसलाई मेस्सीले टप कर्नरमा गरेको प्रहार गोलमा परिणत भयो । डिआरभी पिएनके स्टेडियममा हजारौँ दर्शक मेस्सीको डेब्युको प्रतिक्षामा बसेका थिए । मेसीको खेल हेर्न बास्केटबलस्टार लेब्रन जेम्स, अभिनेत्री किम कार्दशियन तथा टेनिस स्टार सेरेना विलियम्सलगायत मैदानमा पुगेका थिए ।