सञ्चार सचिव राउतसहितलाई सोमबार इजलासमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई सर्वोच्च अदालतमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउत र व्यवसायी मीनबहादुर गुरुङलगायतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आइतबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाई गर्दै पक्राउ परेका सबैलाई सोमबार अदालतमा पेस गर्न सीआईबीका नाममा आदेश दिएको हो ।
आइतबार सो रिटमाथि सुनुवाई भने सम्पन्न भएन । समय अभाव भएकाले भोलि पनि सो रिटमाथि सुनुवाई हुनेछ । यो प्रकरणमा प्रहरीको सीआईबीले १७ जनालाई पक्राउ गरेको छ । उता जिल्ला अदालतले आजै उनीहरूलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । यही प्रकरणमा पक्राउ परे पनि अदालतको स्टे अर्डरका कारण छुटेका तीन जनाबारे पनि भोलि नै सर्वोच्चमा एकैसाथ सुनुवाई हुने भएको छ ।