बाँदरबाट परम्परागत खेती जोगाउन सास्ती भएपछि कफी खेती


११:४५ बजे

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जङ्गली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।

तीन वर्ष अगाडिसम्म यहाँ मकै, कोदो, गहुँ र फाँपर खेती मात्रै हुने गर्दथ्यो । बाँँदरले सबै खेतीलाई हानी पु¥याउन थालेपछि परम्परागत खेतीपाती छाडेर कफी खेती गर्न बाध्य भएको यहाँका किसानको भनाइ छ ।

सिर्सेनीका जितबहादुर अर्यालले आफ्नो सबै खेतबारीमा अहिले कफी खेती सुरु गरेका छन् । ‘मकै र कोदो खेती गर्दा बाँदरले हैरानी दियो’, उनले भने, ‘कफी खेतीमा लागेपछि ढुक्क भएको छ ।’ उनले तीन वर्षको अवधीमा सबै खेतबारीमा कफी खेती विस्तार गरेका छन् ।

सोही ठाउँकी दमन्ता अर्यालले पनि मकै र कोदो मात्रै खेती हुने ठाउँमा अहिले कफी खेती गरेकी छन् । ‘छोराछोरी अध्ययनको लागि सहर छिरेपछि श्रीमान् श्रीमतीले मात्रै मकै र कोदोको खेती जोगाउन सकेनौँ’, उनले भनिन्, ‘कफी खेती सुरु गरेपछि दैनिक हेरचाह गरे मात्र पुग्छ ।’ अहिले सबै खेतबारीमा कफीका बिरुवा रोपेको उनले बताइन् ।

मेघराज अर्यालले परम्परागत खेतीभन्दा कफी खेती निकै सहज भएको बताए । ‘कफीबाट आर्थीक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ’, उनले भने, ‘हामीले मकै, कोदो र गहुँ खेती छाडेर कफी खेतीमा लाग्यौँ ।’ आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषि भन्दा आधुनिक कृषि बढी लाभदायी हुने उनको भनाइ थियो ।

सिर्सेनीका ४५ किसान अहिले कफी खेतीमा आवद्ध छन् । यहाँको कुल एक सय ५० रोपनी क्षेत्रफल जग्गामा १५ हजार कफीका बिरुवा लगाइएको छ । किसानलाई कफी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सहजीकरण गरिरहेको परियोजनाका सहजकर्ता प्रेम अर्यालले बताए । उनका अनुसार उक्त परियोजनान्तर्गत सिर्सेनी प्राङ्गारिक कफी कृषि पाठशाला १५ हप्तासम्म कफी पाठशाला कार्यक्रम सञ्चालन गरेर प्रशिक्षण प्रदान गरिएको थियो ।

परियोजना प्रमुख गङ्गाकुमारी पोखरेलले कफी खेतीमा किसानलाई आकर्षित गरिएको बताइन् । ‘कफी खेतीसम्बन्धी जानकारी दिनुका साथै आधुनिकताका बारेमा सचेतना गराएका छौँ’, उनले भनिन्, ‘कफीमा पछिल्लो समय किसानको आकर्षण बढ्दो छ ।’

गुल्मीस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले ग्रामीण भेगमा कफी किसान उत्पादनमा अग्रसर भएको बताए । ‘कफीको उत्पादनमा मात्रै समस्या हो, बजारीकरणको समस्या छैन’, उनले भने, ‘सिर्सेनीका किसानको सक्रियताले कफीमा आशा जगाएको छ ।’ प्रमुख भण्डारीले पाठशालामार्फत सिकेका कुरा कार्यान्वयन गर्नुपर्ने भन्दै यसबाट कफी खेतीलाई विस्तार गर्न सहयोग पुग्ने बताए । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७