जासुसीको आरोपमा रूसद्वारा अमेरिकी पत्रकार नियन्त्रण
काठमाडौँ । रूसले जासुसीको अभियोगमा एक अमेरिकी पत्रकारलाई पक्राउ गरेको छ । ‘द वाल स्ट्रिट जर्नल’ का लागि काम गर्ने इभान गेर्शकोविचलाई रूसमा पक्राउ गरिएको हो । अमेरिकाका लागि जासुसी गरिरहेको भन्दै रूसी प्रहरीले उनलाई मस्कोनजिकको सहरबाट पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई रूसी एक अदालतमा पेश गरिएको छ । रूसी कानूनअनुसार उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्ने बीबीसीले जनाएको छ । उनीमाथि रूसी सेनाको गोप्य जानकारी संकलन गरी अमेरिकामा पेश गरिरेहको आरोप छ ।
तर वाल स्ट्रीट जर्नलले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । जर्नलले गेर्शकोविच रूसलाई माया गर्ने व्यक्ति भएको र उनलाई गलत आरोप लगाइएको भन्दै खण्डन गरेको छ । गेर्शकोविच जर्नलका लागि रूसमा रहेर काम गर्दै आएका थिए । उनी रूस–युक्रेन युद्धलाई नजिकबाट नियालिरहेका अनुभवी पत्रकार हुन् ।
ह्वाइट हाउसले गिरफ्तारीको कडा निन्दा गरेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनले गेर्शकोविचको रिहाइका लागि अनुरोध गरेका छन् । पहिल्यैदेखि दुई देशबीचको सम्बन्ध तिक्ततापूर्ण रहेकाले कूटनीतिक वार्ता भने हुन सकेको छैन । एजेन्सी