संघीयताप्रतिको चुलिँदो वितृष्णा वर्तमान प्रणाली असफलताको पहिलो खुड्किलो : कोइराला


२०७९ चैत १२ आइतबार १४:३३ बजे

काठमाडौं । नेपाली कांग्रेस सांसद डा. शेखर कोइरालाले नागरिकको विश्वास र संसदको समर्थनबाट देशमा देखा परेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद कोइरालाले देशमा देखिएको अर्थतन्त्रको संकट समाधानमा प्रधानमन्त्रीले देखाएको इच्छा शक्तिले मात्रै केही नहुने बताएका छन् ।

उनले भने, ‘अर्थतन्त्रको संकट समाधानमा प्रधानमन्त्रीले इच्छा शक्ति प्रदर्शन गरेर मात्रै पुग्दैन । त्यसका लागि सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ ।’

समाजवाद भ्रष्टाचारको जगबाट नआउने बताउँदै उनले समसामयिक न्यायिक समाज बनाउन सम्यक विचार, व्यवहार र दृष्टिकोण चाहिने बताए । उनले साझा संकल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न सक्नुपर्नेमा जोड दिए । विश्वबाट लगानीको अवसरहरू नेपाल भित्र्याएर बेरोजगारीलाई सम्बोधन गर्न सम्भव हुने उनको भनाइ छ ।

उनले विश्वव्यापी रुपमा बैंकिंग क्षेत्रको विश्वसनीयता माथि प्रश्न उठिरहेको भन्दै हाम्रो देशले पनि युरोप र अमेरिकामा देखिएको जस्तो बैंकिंग संकटको सामना गर्नु नपरोस् भनी अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ विशेषज्ञको सल्लाहबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

राजनीतिक नेतृत्वमा आम जनताको विश्वास घटेपछि सबल अर्थतन्त्र धरासायी बन्न समय नलाग्ने उनले बताए । अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुलले विधिबाट नभइ दीर्घकालीन रुपमै निकास खोज्न सरकार जाग्नुपर्ने बताए ।

उनले थपे, ‘अहिलेको असजताको सम्वोधन परम्परागत टालटुले विधिबाट होइन दीर्घकालीन रुपमै निकास निस्कने गरी सरकारले काम गरोस् । एकातिर कर्जाको मागमा कमी आएको छ भने अर्कोतिर बैंकहरुको खराव कर्जाको अनुपात वढ्दैछ । त्यति मात्र नभई बैंक तथा वित्तीय संस्थावाट लिएको कर्जा नतिर्न विभिन्न प्रतिकार समितिहरु गठन हुनु र सरकार टुलुटुलु हेरेर बस्नु कदापी राम्रो संकेत हैन । त्यस्तो अपराधिक प्रवृत्तिको तुरुन्त उपचार गरिहाल्नु पर्छ ।’

संघीयताप्रति चुलिएको वितृष्णा राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो भएको कोइरालाको भनाइ थियो । ‘हाम्रा आफ्नै विगतका कमी–कमजोरीले संघीयता, प्रदेश संरचनाप्रतिको वितृष्णा दिन प्रतिदिन चुलिँदो छ,’ कोइरालाले भने, ‘यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्कलो हो भन्ने मलाई लाग्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७