जनताको जीवनस्तर उकास्न काम गरिनेछ : ओली


२०७९ मङ्सिर १ बिहीबार १०:४२ बजे

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताएका छन् । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उनले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा रु एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने बताए । ‘त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ’, अध्यक्ष ओलीले भने, ‘एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन ।’

पूर्व प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताए । उनले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताए । ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ’, उनले भने, ‘हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ ।’

अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्टसिटीका रूपमा विकास गरिने बताए । उनले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने बताए । यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताए । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । गौरीगञ्जमा उनको अन्तिम चुनावीसभा हो ।

यसअघि झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मंसिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गरे ।
निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उनले भने, ‘यसले जनताको भाग्य र भविष्यको फैसला गर्ने हुँदा बेलैमा होस पुर्‍याउनुस् ।’ अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिए ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व कानूनमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश (१) का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र (२) की उम्मेदवार राप्रपाकी सविना बजगाइँले कार्यक्रममा सम्बोधन गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७