धादिङ, २८ चैत । धादिङ र नुवाकोटमा विनादर्ता संचालनमा रहेका थुप्रै बालुवा प्रशोधन गर्ने रोलर (फिरफिरे) का कारण त्रिशुली नदी फोहोर भएकाले ती उद्योग बन्द गर्न जिल्ला समन्वय समितिले निर्देशन दिए पनि अहिले पुनः संचालन हुन थालेका छन् ।
नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेलले पनि त्रिशुली नदी सधैं धमिलो हुनुको कारण फिरफिरे उद्योग नै भएकाले ती बन्द गर्न र नयाँ मापदण्ड बनाएर नदी फोहोर नहुनेगरी संचालन गर्नका लागि निर्देशन दिएका थिए । तर ती उद्योग बन्द गर्ने निर्देशन प्रहरीका लागि कमाइ खाने माध्यम भएको छ । धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखले पनि घुस खाएर संचालन गर्न छुट दिएका छन् ।
धादिङमा सञ्चालित ५० मध्ये ३३ वटा क्रसर उद्योग मात्र दर्ता भएका छन् भने बीसौं फिरफिरे विनादर्ता संचालित छन् । तिनै फिरफिरेका कारण नदी प्रदूषित भएको र वातावरणमैत्री पनि नभएको चर्को आवाज उठेपछि मन्त्री जम्कट्टेलले नै बन्द गर्न निर्देशन दिएका छन् ।
त्रिशूली नदीलाई स्वच्छ र सफा बनाउनको लागी धादिङ जिल्लामा संचालनमा रहेका क्रसर उद्योग, ढुङ्गारबालुवा खानी, बालुवा प्रशोधन गर्ने (फिरफिरे) लगायत खानीजन्य उद्योग व्यवस्थापनका लागि प्रचलित कानून विपरित नहुने गरी संचालन गर्न जिल्ला तहमा नयाँ मापदण्ड लागु गरिएको छ । तर त्यो मापदण्ड अनुसार कुनै फिरफिरे संचालित छैनन् । इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज संजय तिमिल्सिना र गजुरीमै कार्यालय रहेको जिल्ला ट्राफिकका इन्चार्ज कृष्ण सापकोटाको मुख्य कमाइको स्रोत तिनै फिरफिरे भएका छन् ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीले त्रिशुली नदी प्रदूषित गर्ने फिरफिरे बन्द गर्न निर्देशन दिए । तर ती बन्द गर्ने भने पनि ब्यवहारमा बन्द भएका छैनन् । ब्यापक जनगुनासोपछि मन्त्री जम्कट्टेलले बन्द गर्न निर्देशन दिए । तर अहिले पनि त्रिशुली नदी प्रदूषित हुनेगरी फिरफिरे संचालन भइरहेको समाचार छ । तर ती फिरफिरे उद्योग बन्द गरिएको भने पनि गजुरी इप्रका र ट्राफिकका इन्स्पेक्टरद्वय तिमल्सिना र सापकोटाको घुस असुलीको माध्यम बनेको छ ।
मन्त्री जम्कट्टेलको नाम लिनासाथ कुनैबेला सबै डराउँथे, तर अहिले उनले दिएको निर्देशन पनि कार्यान्वयन हुन सकेको छैन । फिरफिरे बन्द गर्ने भने पनि चलिरहेका छन् । प्रहरी हाकिमका लागि कमाइ खाने भाँडो भएका छन् ।
इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर तिमल्सिना जागिरमा प्रवेश गरेदेखि नै काठमाडौं परिसरको घुमुवा बसेर उपत्यकाका डनहरुबाट अथाह सम्पत्ति आर्जन गर्न सफल भएका हुन् । उनी जागिरको अधिकांश समय काठमाडौं परिसरको घुमुवा नै बसे । उनले काठमाडौंका डनहरु एकथरीलाई पेल्ने र अर्को थरीबाट ठूलो फाइदा लिएको आरोप छ ।
[caption id="attachment_43842" align="aligncenter" width="795"] क्रमश बायाबाट ध्रबराज राउत, बसन्त कुंवर, कृष्ण सापकाेटा र सञ्जय तिमिल्सिना ।[/caption]
ट्राफिकका इन्चार्ज कृष्ण सापकोटा असई र सई हुन्जेल अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए । उनलाई नेपालका हुन्डी, डलर र नक्कली नागरिकता लिने मारवाडी र तिब्बती नागरिकको बारेमा सबै सूचना छ । प्रदीपशमशेर राणा आइजीपी भएको बेला उनका निवासमा बस्ने देवेन्द्र साहको आडमा उनले अपराध महाशाखामा बसी अथाह सम्पत्ति आर्जन गर्न सफल भएका थिए ।
रविन्द्रप्रताप शाह अपराध महाशाखाको प्रमुख, हरि पाल इन्स्पेक्टर र सईमा सापकोटा थिए । पछि शारदाभक्त रन्जित अपराधको प्रमुख हुँदा पनि हरि पाल र सई सापकोटाको असुली अचाक्ली नै हुने गरेको प्रहरी स्रोत बताउँछ । हरि पालका नाताले साढुदाइ पर्ने कृष्ण सापकोटा प्रहरीमा दर्जा सानो भए पनि अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् ।
नयाँ मापदण्ड अनुसार जिल्लामा संचालित कुनै पनि क्रसर तथा वालुवा धुने फिरफिरे उद्योगले रातीको समयमा संचालन गर्न पाइने छैन र ती उद्योगबाट निस्कने लेदो अर्थात् फोहोर पानी र अन्य वस्तु सिधै नदी खोलामा मिसाइए त्यस्ता उद्योग र उद्योग संचालकलाई कालोसूचीमा राखी कारवाही गरिने समेत निर्णय भएको थियो । तर यो निर्देशन अनुसार फिरफिरे संचालन हुन सकेका छैनन् ।