हल्यान्डको गोलमा सिटी विजयी


२०७९ भदौ ३० बिहीबार २१:०१ बजे

काठमाडौँ । इर्लिङ हल्यान्डले खेलको अन्त्यतिर गरेको एक्रोब्याटिक गोलमा म्यानचेस्टर सिटीले बुधबार युरोपेली च्याम्पियन्स लिगमा उनको पूर्व क्लब बोरुसिया डर्टमन्डलाई २-१ ले हराएको छ ।

अन्य खेलमा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेका छन् । एतिहाडमा भएको खेलमा जुड बेलिनघमको गोलले डर्टमुन्डले अग्रता लिएको थियो ।

समूह ‘जी’ खेलको ८० औं मिनेटमा जोन स्टोन्सले बराबरी गोल फर्कायता हल्यान्डले जितका लागि निणर्ायक गोल गरे । हल्यान्डले सिटीका लागि ९ खेलमा १० गोल गरिसकेका छन् । यसै समूहमा एफसी कोपेनहेगन र सेभियाले गोलरहित बराबरी खेले । लन्डनमा चेल्सीले प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा पहिलो पल्ट खेल्यो र समूह ‘ई’ मा साल्सबर्गसँग १-१ को बराबरीमा चित्त बुझायो ।

यसै समूहमा एसी मिलानले डायनामो जाग्रेभलाई ३-१ ले हरायो । डिफेन्डिङ च्याम्पियन रियलले खेलको अन्त्यतिरका दुई गोलमा आरबी लाइजिगलाई २-० ले पराजित गर्‍यो । समूह ‘एफ’ मा रियल शीर्ष स्थानमा छ र यसै समूहको अर्को खेलमा साख्तर डोनेस्क र सेल्टिकले १-१ को बराबरी खेले ।

समूह ‘एच’ मा पीएसजीले मकाबी हाइफालाई ३-१ र बेनफिकाले युभेन्ट्सलाई २-१ ले पन्छायो । पीएसजीका लागि लियोनल मेसी, केयलिन एमबापे र नेयमारले गोल गरे । युभेन्टसले भने लगातार दोस्रो हार बेहोर्‍यो । लगातार दोस्रो जितका लागि समूह ‘ए’ मा नेपोलीले रेन्जर्सलाई ३-० ले निराश पार्‍यो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७