चुनावको पूर्वसन्ध्यामा प्रहरीका चुनावी कमान्डर एआईजी थापा एकेडेमीमा सरुवा
काठमाडौं : चुनावको पूर्वसन्ध्यामा सरकारले नेपाल प्रहरीको सुरक्षा कमाण्डर केन्द्रिय निर्वाचन सेल प्रमुख नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)सहकुलबहादुर थापाको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका निर्वाचन सेल प्रमुख थापालाई सरुवा गरेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो।
यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले भदौ २३ देखि अवकाश पाएपछि निर्देशक पद रिक्त थियो।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले थापाको कमाण्डमा केन्द्रीय निर्वाचन सेल गठन गरेको थियो । थापाको सरुवासँगै कार्यविभागमै कार्यरत डीआईजी वसन्त कुँवरले चुनावी कमाण्डको जिम्मा दिइइको छ । कुँवर एक नम्बरमा डीआईजीमा बढुवा भएका थिए । एमाले निकट भनेर चर्चा चलाइएका थापालाई सरकारले कार्य विभागबाट सरुवा गरेर कांग्रेस निकट भनिएका कुँवरलाई कमाण्ड जिम्मा दिनुलाई अर्थपूर्ण मानिएको छ ।
गत स्थानीय तहको निर्वाचनको चुनावी कमाण्डर पनि थापा नै थिए । केन्द्रीय निर्वाचन सेलका कमाण्डरका कमाण्ड मातहतमा अन्य निर्वाचन सुरक्षा समितिहरुले काम पद्धति रहेको छ । सेलले चुनावी सुरक्षाका बारेमा केन्द्रबाट प्रदेश र जिल्लाहरुमा आवश्यक सहकार्य र सहजीकरण गर्ने छ।
मंसिर ४ को चुनाव नजिकिएसँगै रातारात सरूवा बढुवालाई तीव्र पारेको सरकारले प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागका प्रमुख प्रहरी थापालाई गरिएको सरुवा अर्थपूर्ण मानिएको छ।
यसअघि सरकारले टेकनारायण पाण्डेलाई पनि गृहसचिवको जिम्मेवारीबाट हटाएको थियो । पाण्डेको ठाउँमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव र नेपाल प्रहरीका निर्वाचन सेल प्रमुख फेरेका हुन् ।