जङ्गी अड्डामा खाद्य सुरक्षासम्बन्धी सेमिनार

काठमाडौँ । नेपालमा खाद्य सुरक्षा सम्बन्धी सेमिनार शुरु भएको छ । नेपालमा खाद्य सुरक्षाको अवस्था मूल्यांकन, विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्लेषण गरी राय सुझाव प्रस्तुत गर्ने उद्देश्यले सेमिनार गरिएको सेनाले जनाएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा दुई दिने सेमिनार शुरु भएको हो । जङ्गी अड्डामा सञ्चालन भएको सेमिनारको कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवले उद्घाटन गरेका छन् ।
नेपाली सेना, विभिन्न मन्त्रालय, विभाग, अन्य सुरक्षा निकायका पदाधिकारीहरु तथा सम्बन्धित विषयका विज्ञहरुको सहभागितामा सञ्चालित उक्त सेमिनारमा नेपालको विद्यमान खाद्य सुरक्षाको अवस्था, चुनौतीहरु तथा खाद्य सुरक्षाको सम्वर्द्धन तथा प्रवद्र्धनका लागि अवलम्वन गर्नुपर्ने भावी लक्ष्य, योजना र अवसरहरूका बारेमा छलफल केन्द्रित रहनेछ ।
नेपालमा खाद्य सुरक्षालाई सम्वर्द्धन तथा प्रवर्द्धनमुखी बनाउन अपनाउनु पर्ने आगामी लक्ष्य, योजना र अवसरहरू पहिचान गर्न सेमिनार प्रभावकारी सावित हुने सुरक्षा समितिका संयोजक समेत रहेका रक्षा सचिव किरणराज शर्माले बताए । सेमिनारको समापन बिहीबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले गर्ने तय छ ।