नेता कोइरालाले भेटे प्रकृति लम्सालको परिवार

रुपन्देही । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआइआइटी कलेजको छात्रावासमा ज्यान गुमाएकी प्रकृति लम्सालको परिवारसँग भेट गरेका छन् ।
भेटका क्रममा उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताएका छन् । रुपन्देहीको भैरहवास्थित उनको निवासमा पुगेर कोइरालाले प्रकृतिका बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र नेपाली कांग्रेस पार्टीले घटनालाई अत्यन्तै गम्भीर रूपमा लिएको बताए ।
कोइरालाले सो कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने र अध्ययनको लागि आवश्यक पहल भइरहेको पनि जानकारी दिए । कोइरालासँगै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पनि उनीहरूलाई भेट्न पुगेका थिए ।