भरौला (सुनसरी), १८ चैत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ५ स्थित अमाह सामुदायिक वनमा बंदेल मारेर सिकारीहरू फरार भएका छन् । आइतबार दिउसो वनमा सिकार खेल्न गएका सिकारीहरूले बदले मारेको वनका अध्यक्ष भोजराज घलेले जानकारी दिए ।मारिएका बंदेल बाेकेर ल्याउँदै नेपाली सेना ।
सिकारीहरूले बंदेल मार्ने क्रममा ४ पटक फायरिङ् गरेका थिए । जङ्गलमा सिकारीहरू पसेको पूर्व सूचना पाए लगतै सामुदायिक वनका पदाधिकारीहरू, सेक्टर वन रक्षकहरू तथा तरहरा र धरानबाट समेत विशेष टोली आएको थियो ।
जङ्गलमा फायरिङ् भएपछि तयार अवस्थामा रहेको टोलीले वन घेराउ गरेको थियो । तर सिकारी भने पत्ता लगाउन सकेनन् । सिकारी शङ्का गरिएपनि प्रयाप्त प्रमाण नजुट्दा सिकारी को हुन् भनेर पक्रन नसकिएको अध्यक्ष घलेले बताए ।
वनका कर्मचारीहरूले घेरा हालेको थाहा पाएपछि सिकारीहरू फरार भएको हुनसक्ने आशङ्का गरिएको छ । फरार हुने क्रममा सिकारीहरूले मृत बदलेलाई घाँसपातले छोपेको अवस्थामा फेला पारिएको थियो ।
मृत बंदेललाई सुनसरी जिल्ला वन कार्यालयबाट मुचुल्का उठाई पोस्ट माटम गरी खाडलमा गाड्ने प्रावधान रहेको छ ।