निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री : बर्षमान पुन
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले छानविनपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका छन् । बजेट निर्माणका बेला असम्बन्धित व्यक्तिलाई संलग्न गराई करको दायरा हेरफेर गरेको आरोप लागेपछि दवावमा परेका जनार्दन शर्माले आजै (बुधबार) पदबाट राजीनामा दिएका छन् ।
शर्माले पदबाट राजीनामा दिए लगतै नेता पुनले तत्काल कोही अर्थमन्त्री नबन्ने बताए । जनार्दश शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि माओवादी वा कांग्रेसबाट अर्को नेता अर्थमन्त्री बन्ने अनुमान चलिरहेका बेला नेता पुनले भने छानविनपछि शर्मा नै अर्थमन्त्रीमा फर्किने प्रतिक्रिया दिएका हुन् ।
बुधबार संसद् बैठकपछि बाहिर निस्किएर नेता पुनले यस्तो बताएका हुन् । उनले छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी समेत गरे । उनले अर्थमन्त्री शर्माले उच्च नैतिकता देखाएर राजीनामा दिएको बताए । यद्यपि प्रश्न उठेपछि शर्माले राजीनामा दिनु अनिवार्य भएको उनले बताएका छन् ।
नेता पुनले प्रमुख प्रतिपक्षी दलका नेताहरूले पुष्टि भएझैं गरी शर्मालाई कारबाही गर्नुपर्ने माग गरेकोप्रति आपत्ति जनाए । उनले प्रतिपक्षी दल एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्तिलाई संकेत गर्दै शर्माप्रतिको व्यवहार पूर्वाग्रह मात्र भएको बताए ।
.gif)

.png)

