नेता सिंहको आरोप : एमाले एएसपीपी उचालेर गठबन्धन फुटाउन खोज्दैछ
काभ्रे । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनको परिणामपछि झस्किएको नेकपा एमालेले सत्ता गठबन्धन फुटाउने अनेक प्रयास गरिरहेको आरोप लगाएका छन् ।
काभ्रेको बनेपामा आज (शनिबार) कांग्रेसको बनेपा नगर कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि एमालेले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा हुँदै नभएको विषय उचालेर विपक्षीबाट कांग्रेसमाथि प्रहार भइरहेको नेता सिंहले बताए । आफू सत्तामा हुँदा पत्र लेखेको विपक्षी दलले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको उनको दाबी गरे ।
‘कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता गर्दैन । प्रधानमन्त्रीले पटक-पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिनँ भनिरहँदा पनि ‘हैन यो सम्झौता भएकै छ’ भन्नु र नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफै फसिसकेको छ,’ सिंहले भने । कांग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले कांग्रेसभित्रको आन्तरिक एकता बलियो भए मात्र लोकतन्त्र बलियो हुने जिकिर गरे ।