मलेसियामा नेपाली टोलीको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित


२०७९ असार ४ शनिबार १९:२९ बजे

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज (शनिबार) को खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो ।

नेपालले दिएको १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् । नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक/एक विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित कुवेतको तालिकामा १ अंक छ । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् ।

२७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन् । त्यस्तै इन्दु बर्माले २८ रन जोड्ने क्रममा ३३ बलको सामना गर्दा २ चौका हानिन् । यस्तै ज्योती पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्ने क्रममा क्याच आउट भइन् । यस्तै सीता राना मगर र काजल श्रेष्ठले समान ५/५ रनको पारी खेल्दै पवेलियन फर्किए । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एक-एक विकेट लिइन् ।

यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी शुरुवात गरेको थियो । उता कुवेतले भने बर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो । च्याम्पियनसिप अन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने छ ।

१० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागि टोलीलाई आयोजक दुई समूहमा विभाजन गरको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन भने फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७