छाङ्गरु र तिंकरमा सकियो मतदान : ३५५ भोट हेलिकप्टरबाट सुनसेरा ल्याइँदै


२०७९ बैशाख ३० शुक्रबार १६:३३ बजे

दार्चुला । भारतद्वारा अतिक्रमित कालापानी नजिकको दार्चुलाको व्याँस गाउँपालिका-१ स्थित तिंकर र छाङ्गरुमा मतदान सकिएको छ । तिंकर र छाङ्गरुमा ३५५ मत खसेको छ ।

स्थानीय तह निर्वाचनको मतदानमा छाङ्गरु र तिंकर दुवै केन्द्रको गरी ३५५ मत खसेको व्याँस गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णानन्द बडूले जानकारी दिए । ‘शान्तिपूर्ण मतदान भएको छ, ५ बजेभित्र लाइन लागेका सबैले मतदान गरिसकेका छन्’, उनले भने, ‘सर्वदलीय बैठक बसेर मत गणनाको निणर्य गर्छौ ।’

उनका अनुसार छाङ्गरुमा २१९ मत र तिंकरमा १३६ मत खसेको छ । दुई मतदान केन्द्र रहेको छाङ्गरु र तिंकरमा कूल ६०६ मतदाता थिए । तिंकरको मोती महिला संघ आधारभूत विद्यालय केन्द्रमा २३१ र छाङ्गरुको कैलाशवती आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ जना मतदाता छन् ।

व्याँस गाउँपालिकाका मतगणना गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ स्थित सुनसेरामा गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ । तिंकर र छाङ्गरुको मतपेटिका पनि गणनाका लागि सुनसेरा नै झिकाइने सहायक निर्वाचन अधिकृत बडूले बताएका छन् । नेपाली भूमिबाट छाङ्गरु र तिंकर जाने बाटो नहुँदा त्यहाँका मतपेटिका शनिबार (भोलि) बिहान हेलिकप्टरमार्फत गणनाका लागि सुनसेरा ल्याइने छ ।

यसअघि निर्वाचन सामाग्री, सुरक्षाकर्मी पनि नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु तिंकर पठाइएको थियो । चिसो छल्न सदरमुकाम खलंगा झरेका छाङ्गरु, तिंकरबासी मतदानका लागि भारतीय बाटोको प्रयोग गरेर त्यहाँ पुगेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७