ओलीको कटाक्ष : मान्छेलाई रिस उठेपछि ‘तेरा घरमा कांग्रेस पसोस्’ भन्थे
बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले-पहिले मान्छेलाई रिस उठे ‘तेरा घरमा कांग्रेस पसोस्’ भनेर सराप्ने गरेको स्मरण गराएका छन् ।
आज (आइतबार) बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो कटाक्ष गरेका हुन् । उनले एमालेको सरकार आएपछि मात्रै जनतामा आशा पलाएको बताए ।
‘अहिले त मान्छेहरुले एमालेले सरकार चलाएको हुनाले आशा भरोसा पलाएको छ,’ ओलीले भने । ‘पहिले-पहिले त के भन्थे मान्छेहरु, छिमेकीसँग रिस उठ्यो भने, बेस्सरी झगडा भयो भने सरापिदिन्थे, तेरा घरमा कांग्रेस पसिजाओस भनेर,’ उनले भने, ‘यस्तो समय थियो, साह्रै रिस उठेपछि के भनेर सराप्ने भन्दा तेरा घरमा कांग्रेस पसोस् भन्थे, मैले यसै भनेको होइन ।’
ओलीले कांग्रेसका नेताहरुले खुलेआम आफ्नो पार्टी सुकुम्बासी र गरिबको होइन भन्दै हिंडेको आरोप लगाएका छन् । ‘कांग्रेसका नेताहरु खुलेआम भन्छन्, ‘कांग्रेस गरिबको पार्टी होइन, सुकुम्बासीको पार्टी होइन भनेर,’ उनले भने, ‘युट्युबमा खोजेर हेरे हुन्छ, कांग्रेसका नेताहरु भन्छन गरिबको पार्टी होइन भनिराख्या छन् ।’
एमाले ‘शेर’, सत्ता गठबन्धनका दलहरु ‘स्याल’
अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ‘शेर’ र गठबन्धनका दलहरूलाई ‘स्याल’ को संज्ञा दिएका छन् । अध्यक्ष ओलीले एउटा शेरको अगाडि १० वटा स्याल आए पनि केही फरक नपर्ने टिप्पणी गरेका हुन् ।
उनले कतिपयलाई गठबन्धन छ भन्ने पर्न सकेको हुनसक्ने भन्दै त्यतातिर नसोच्न मतदातालाई आग्रह गरे । ‘कतिलाई के पर्न सक्छ भने गठबन्धन बनेको छ भन्ने । पाँच दलीय गठबन्धन बन्या छ, पाँच दलीय छाडेर १० दलीय बन्न दिनुस् न के भयो र ?’ ओलीले प्रश्न गर्दै अघि भने, ‘अनि एउटा शेर एकातिर १० वटा स्याल एकातिर भएर के हुन्छ ? के फरक पर्छ ?’ ओलीले यसअघि एमाले क्विन्टल र पाँच दलीय गठबन्धन १/१ केजीको ढक भनेको पनि दोहोर्याए ।
‘अस्ती मैले भनेको थिएँ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो । अर्कातिर १-१ केजीका ढक जस्ता हुन पाँचवटा । एउटै ढक काफी छ,’ ओलीले भने, ‘एमालेले देशका लागि केही गरेको छ, जनताका लागि केही गरेको छ । बालबालिका र युवाहरुका लागि काम गरेको छ ।’
.gif)

.png)



