झापाका मतदाता भन्छन् : हामी भोट दिन्छौं, हामीलाई विकास दिनुहोस्


२१:०३ बजे

झापा । झापा जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ-आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिंड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) र अन्य राजनीतिक दलहरु आ-आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृष्य रोमाञ्चक देखिन्छ ।

विशेष गरेर मुख्य पदका उम्मेदवार गाउँमा पुग्दा भोट मात्र माग्दैनन् । मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धता समेत जनाउने गरेका छन् । मेचीनगर नगरपालिका-१५ स्थित भण्डाबारी टोलकी ७५ वर्षीया डुकु मुर्मुले विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको बताउँछिन् । ‘पहिला-पहिला त घरघरमा झण्डा राखिदिने, चुनाव प्रचारमा हिंडेवापत दैनिक ज्याला दिनेसम्म गर्थे’, उनी भन्छिन्, ‘यसपालि चाहिँ त्यसो गर्ने कोही आएनन् ।’

पहिलो पटक चुनावमा भाग लिन लाग्नुभएका मेचीनगर-१४ का १९ वर्षीय दीपेन्द्रकुमार न्यौपानेले भने उत्साही छन् । उनी भन्छन्, ‘बुबा, आमा, दाजु दिदीले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्न । जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई दिन्छु ।’ उनले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेको बताए ।

राजनीतिक दलहरुले बिहान ६ बजेदेखि नै चुनावी अभियान सुरु गर्ने र आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित हिंड्ने गरेका छन् । यसरी हिँड्दा कतिपय स्थानमा अन्तरदलीय उम्मेदवारबीच भेट हुँदा समेत एक अर्कामा अँगालो मारेर आत्मीयता साटेको देखिन्छ । मेचीनगर-१५ का ८३ वर्षीय कालिन्द्र राजवंशीले विगतमा भन्दा यसपालिको चुनाव पृथक लागेको बताए । उनी भन्छन्, ‘गाउँघरमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो । कसले ठूलो झण्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो । यसपालि शान्त छ ।’

यसपालिको चुनावमा त्यस्तो केही नभएको र जुनसुकै पार्टी भए पनि हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ भन्दै सरसल्लाह हुने गरेको उनको भनाइ छ । उनले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गरे । उनले भने, ‘हामीले मत दिन्छौं, उनीहरुले विकास दिनुपर्‍यो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७